post-slider post-slider

संविधान र राष्ट्रका लागि गठबन्धन परिवर्तन गर्नुपर्‍योः पम्फा भुसाल

Image
A A

काठमाडौँ - नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले अहिलेको व्यवस्था, संविधान र राष्ट्रका लागि गठबन्धन परिवर्तनको निर्णय भएको बताएकी छन्। 

अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको अवसरमा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) ले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा भुसालले प्रधानमन्त्रीले पदका लागि नभई व्यवस्था र संविधानको रक्षाका साथै राष्ट्रको पक्षमा लागि गठबन्धन परिवर्तनको निर्णय लिएको बताएकी हुन्। 

नयाँ सत्ता गठबन्धनले जनतालाई सुशासन र परिवर्तनको अनुभूति गराउने संकल्पका साथ काम गर्ने भन्दै त्यस अनुसार काम हुन नसके मुलुक थप समस्यामा पर्ने उनले बताइन्। 

भुसालले अहिले वामपन्थीहरूको बाहुल्यतासहितको नयाँ गठबन्धन बनेको भन्दै यसलाई मोर्चा हुँदै एउटै पार्टी बनाउनेसम्म अघि बढाउनुपर्ने धारण राखिन्। दीर्घकालमा एउटै देशमा दुई वटा कम्युनिष्ट पार्टीहरू समानान्तर ढंगले जान नसक्ने भन्दै एक दिन सबै कम्युनिष्टहरु एकै ठाउँ आउनै पर्ने उनले बताइन्।

त्यस्तै उनले आफूहरूले लडेर ल्याएको अधिकार कार्यान्वयनका लागि र थप अधिकार स्थापित गर्न संघर्षको मोर्चा छाड्न नसकिने जिकिर गरिन्। 

उनले संघर्षको स्वरूप भने फरक फरक हुन सक्ने बताइन्। राज्य सञ्चालन गर्ने स्थानमा नै महिला प्रतिनिधि नभएसम्म महिलाको हक अधिकार पूर्णरुपमा कार्यान्वयन हुन नसक्ने उनको भनाइ छ।

Tags: