post-slider post-slider

यस्तो छ कांग्रेस महाधिवेशनको कार्यतालिका, कहिले के हुँदैछ?

Image

काठमाडौँ। नेपाली कांग्रेसको पन्ध्रौं महाधिवेशन पुसमा हुने भएको छ। सोमबार सानेपामा बसेको केन्द्रीय समिति बैठकले पन्ध्रौं महाधिवेशन पुस २६, २७ र २८ गते काठमाडौंमा गर्ने निर्णय गरेको हो।

महामन्त्री गगन थापाका अनुसार कार्यबाहक अध्यक्ष पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकले सर्वसम्मत रूपमा पार्टीको नियमित महाधिवेशन गर्ने निर्णय गरेको बताए। नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशनतर्फ अघि बढ्ने थापाले बताए।

बैठकले महाधिवेशनको कार्यतालिका समेत सार्वजनिक गरेको छ। जसअनार केन्द्रबाट नयाँ क्रियाशील सदस्यता फारम वितरण मंसिर २० गतेभित्र हुने छ।

प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति हुँदै वडासम्म नयाँ क्रियाशील सदस्यको फारम मंसिर २४ गतेभित्र पठाइने छ।

एक मात्र निर्वाचन क्षेत्र भएका जिल्ला र दुई वा दुईभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएका जिल्लामा प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यताको कार्य पुस ८ गतेभित्र सम्पन्न गर्ने छ।

यसैगरी, एक मात्र निर्वाचन क्षेत्र भएको जिल्लामा वितरण भएको नयाँ क्रियाशील सदस्यको सूची जिल्ला कार्यसमितिले प्रकाशित गरी केन्द्रमा पठाउने समय पुस १० गतेभित्र तोकिएको छ।

दुई वा दुईभन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लामा वितरण भएको नयाँ क्रियाशील सदस्यको सूची प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले प्रकाशित गरी जिल्ला कार्यसमिति र केन्द्रमा पुस ११ भित्र पठाउनु पर्ने छ।

नयाँ क्रियाशील सदस्यताउपर छानबिन गरी निर्णयअनुसार सूची प्रकाशित गरेर केन्द्रमा पठाउने मिति पुस १२ गते रहेको छ।

क्रियाशील सदस्यको अन्तिम सूची तयार गरी सभापति/कार्यवाहक सभापतिलाई बुझाउने समय पुस १४ गते तोकिएको छ।

केन्द्रीय कार्यालयले सभापति/कार्यवाहक सभापतिबाट प्रमाणित  क्रियाशील सदस्यताको नामावलीको अन्तिम सूची केन्द्रीय निर्वाचन समितिलाई बुझाउने समय पुस १४ गते रहेको छ।

नेपाली जनसम्पर्क समितिको अधिवेशन पुस १५, गाउँ/नगर वडा अधिवेशन पुस १६, गाउँ/नगरपालिका अधिवेशन पुस १७, प्रदेश सभा क्षेत्रीय अधिवेशन पुस १९ र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधि सभा निर्वाच क्षेत्र भएको जिल्ला अधिवेशन पुस २१ गते हुने छ।

दुई वा दुईभन्दा बढी प्रतिनिधि सभा क्षेत्र भएको जिल्ला अधिवेशन पुस २२, प्रदेश अधिवेशन- पुस २३ र २४ गते हुने छ।

कांग्रेसको तेह्रौं र चौधौं महाधिवेशन पनि काठमाडौंमै भएको थियो। तेह्रौं र चौधौं महाधिवेशनबाट कांग्रेस सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएका थिए। जेन-जी आन्दोलनपछि सभापति देउवाले नेतृत्व छोडेर कार्यबाहक सभापतिमा खड्कालाई जिम्मेवारी दिएका थिए। कांग्रेसमा नियमित महाधिवेशनका लागि महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा, नेता शेखर कोइरालाले पछिल्लो समय दबाब बढाएका थिए।

Tags: