post-slider post-slider

कोसी प्रदेस : सरकारबाट समर्थन फिर्ता लिने माओवादी केन्द्रको निर्णय

Image
A A

काठमाडौं- कोसी प्रदेसमा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ।

माओवादी केन्द्रले एमालेका मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको हो।

माओवादी संसदीय दलको सोमबार बसेको बैठकले मंगलबार पार्टीको प्रदेस कमिटीमा छलफल गरेर समर्थन फिर्ता लिने निर्णय गरेको थियो।

यसअघि सरकारमा सहभागी एकमात्र प्रदेससभा सदस्य रहेको जसपाले समर्थन फिर्ता लिने निर्णय गरेको थियो।

केन्द्रमा भएको गठबन्धनअनुसार जसपाले समर्थन फिर्ता लिएपछि माओवादी केन्द्र पनि दबाबमा परेको थियो।

माओवादी केन्द्रले समर्थन फिर्ता लिएसँगै कार्की नेतृत्वको सरकार अल्पमतमा पर्नेछ।

९ पुसमा एमाले, माओवादी केन्द्र, जसपासहितको गठबन्धन बनेपछि एमाले नेता कार्कीको नेतृत्वमा सरकार गठन भएको थियो।

सरकारमा माओवादी केन्द्रबाट दुर्गा चापागाईं भौतिक पूर्वाधार विकासमन्त्री र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का कान्छा ज्वाइँ जीवन आचार्य पर्यटन, वन तथा वातावरणमन्त्रीको जिम्मेवारी सम्हालेका थिए।

राष्ट्रपति निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र, जसपासहितको गठबन्धन बनेपनि माओवादी केन्द्रले समर्थन फिर्ता लिन ढिलाइ गरेकाले कोसी प्रदेसमा एमाले नेतृत्वकै सरकार कायम रहेको छ।

मुख्यमन्त्री कार्कीलाई एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाका ६ र जसपाका एक प्रदेसभा सदस्यको समर्थन थियो।

माओवादीले समर्थन फिर्ता लिएपछि अब मुख्यमन्त्री कार्की नेतृत्वको सरकारलाई राप्रपाको मात्रै समर्थन रहनेछ।

९३ संसदीय प्रदेससभामा सरकार बनाउन ४७ सदस्यको समर्थन जरूरी हुन्छ। तर, राप्रपाको मात्रै समर्थन पाउने भएपछि आफ्नो दल एमालेका ४० र राप्रपाका ६ गरी कार्कीसँग ४६ प्रदेस सांसद हुनेछन्। त्यो अवस्थामा उनको सरकार अल्पमतमा पर्नेछ।

अब कांग्रेसका २९, माओवादीका १३ एकीकृत समाजवादीका ४ र जसपाको १ गरी ४७ सांसद प्रतिपक्षमा आउने भएका छन्।

सरकारलाई समर्थन गरेको कुनै दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।

 

Tags: