post-slider post-slider

बिएन्डसीलाई सम्बन्धन दिने सर्वोच्चको फैसलाविरूद्ध डाक्टर केसीको चेतावनी

Image
A A

काठमाडौं, चैत १३- चिकित्सा शिक्षा सुधार अभियन्ता वरिष्ठ चिकित्सक गोविन्द केसीले सर्वोच्च अदालतको आदेशबारे ध्यानाकर्षण भएको बताएका छन्।

सोमबार अदालतले प्रक्रिया पुर्‍याएको भए झापाको बिएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश दिएको थियो।

प्रस्तावित मेडिकल कलेज बिएन्डसीका सञ्चालक दुर्गा प्रसाईंको निवेदनमाथि फैसला गर्दै अदालतले प्रक्रिया पूरा गरेको भए सम्बन्धन दिन हुने फैसला गरेको थियो।

‘चैत १२ गते सर्वोच्च अदालतले एक उच्छृङ्खल र अराजक मेडिकल व्यापारीको मुद्दाउपर गरेको फैसला र त्यसले सिर्जित हल्लाले हाम्रो ध्यानाकर्षण भएको छ। फैसालाको संक्षिप्त आदेशको  प्रतिलिपि पनि अहिलेसम्म प्राप्त भएको छैन,’ केसीले मंगलबार विज्ञप्ति जारी गर्दै भनेका छन्।  

केसीले देशको कानुन र संविधान टेकेर हुने कुनै पनि फैसला मान्ने तर कसैको निहित स्वार्थमा कानुन प्रतिकूल फैसला आएको अवस्थामा त्यसले न्यायिक अराजकता सिर्जना गर्न सक्ने र न्यायालयले आफैं त्यस्तो गल्ती सुधार्नुको विकल्प नरहेको बताएका छन्।

उनले ‘ऐन प्रतिकूल फैसला आएको’ भन्दै तत्काल न्यायिक पुनरावलोकन (भ्याकेट)मा जाने बताएका छन्।

‘साथै सो फैसलाले चिकित्सा शिक्षा ऐनको मर्ममा प्रहार गर्‍यो र आयोगलाई निस्तेज तुल्यायो भने मेडिकल शिक्षाको क्षेत्रमा अराजकतालाई वल पुग्नेछ र  आम नागरिकको स्वास्थ्यमा थप खेलबाड हुने छ,’ केसीले भनेका छन्, ‘यही संदिग्ध अर्थ लाग्ने फैसालामा टेकेर कसैले पनि ऐन उल्लङ्घन गर्ने काम गरेमा त्यो हामीलाई स्वीकार्य हुने छैन।’

विगत डेढ दसकयता विपन्न वर्गदेखि लिएर सबै आम नेपालीहरूक‍ो गुणस्तरीय नि:शुल्क र सस्तो औषधी उपचार र शिक्षा पाउने अधिकार र सुशासनको लागि संघर्षरत् रहेकोमा कुनै पनि पक्षबाट त्यसखाले सुधारको मर्ममा आँच  पुर्‍याइए आफूलाई स्वीकार्य नहुने केसीले चेतावनी दिएका छन्।

केसीले सरकारलाई आफ्ना मागहरू तुरुन्त पूरा गर्न र सम्झौताहरू कार्यान्वयन गर्न पुन:स्मरण गराएका छन्। अन्यथा, कुनै बेला पनि सत्याग्रहसहितको आन्दोलन सुरू गर्न बाध्य हुने चेतावनी केसीले दिएका छन्।

प्रसाईं लामो समयदेखि कानुनी प्रक्रियामा गए पनि सम्बन्धन नपाएका कारण अदालतमा निवेदन दिन पुगेका थिए।

Tags: