post-slider post-slider

सामाजिक सञ्जालमा चिनजान गरेर काठमाडौं युवतीलाई बोलाए, घुम्न भन्दै भारत पुर्‍याए

Image
A A

काठमाडौं- २६ वर्षीया युवतीलाई भारत पुर्‍याएर बेचबिखन गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा नुवाकोट दुप्चेश्वर गाउँपालिका-७ घर भई हाल काठमाडौं तारकेश्वर नगरपालिका-५ बस्ने २५ वर्षीय चन्द्रबहादुर तामाङ र नुवाकोट दुप्चेश्वर गाउँपालिका-३ घर भई जिल्ला काठमाडौं तार्केश्वर नगरपालिका-७ बस्ने ३० वर्षीय किरण तामाङ रहेका छन्।

दुबै जनालाई उनीहरू बसेको हालको स्थान तारकेश्वरबाट पक्राउ गरिएको मानव बेचबिखन ब्युरोले जनाएको छ।

चन्द्रबहादुरले सामाजिक सञ्जालबाट चिनजान भएकी ती युवतीलाई कलंकीस्थित होटलमा काममा लगाइदिने भन्दै काठमाडौं बोलाएका थिए।

भेट्न बोलाएर उनले ‘तत्काल होटलले काममा मान्छे नराख्ने भन्यो, भारतमा घुमेर आऊ’ भनी विश्वासमा पारेर किरण तामाङको जिम्मा लगाएका थिए।

ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक ज्ञानेन्द्र फुयाँलका अनुसार किरणले गत पुस १९ गते नयाँ बसपार्कबाट स्वयम्भू हुँदै बसबाट भारतको सीमासम्म पार गराएका थिए।

उनले भारतको पुना भन्ने स्थानमा लगेर तीन जना अपरिचित महिलाहरूको जिम्मा लगाएका थिए। महिलालाई जिम्मा लगाएर उनी काठमाडौं फिर्ता भएका थिए।

आफूलाई भारतमा बेचबिखनको लागि ल्याएको भन्ने शंका लागेर ती युवतीले आफन्तलाई फोन गरेकी थिइन्। आफन्तले नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न भनेपछि उनी भारतीय प्रहरीकहाँ पुगेकी थिइन्।

भारतीय प्रहरी र विभिन्न संघ-संस्थाको समन्वयमा ती युवती पुस १२ गते भारतबाट काठमाडौं आइन्। आएपछि ब्युरोमा उनले जाहेरी दिएकी थिइन्।

प्रहरीले तामाङद्वयलाई पक्राउ गरी मानव बेचबिखन तथा ओसारपसार मुद्दामा अनुसन्धान थालेको छ।

Tags: