post-slider post-slider

गठबन्धन गर्न नहुने गगनको प्रस्तावमा देउवाले के भने?

Image
A A

काठमाडौं, फागुन ७ - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भविष्यमा राजनीतिक गठबन्धन गर्ने वा नगर्ने भन्ने विषय तत्कालीन परिस्थितिमा निर्भर हुने बताएका छन्।

भविष्यमा निर्वाचनअघि गठबन्धन गर्न नहुने महामन्त्री गगन थापाले प्रस्ताव राखेपछि देउवाले यस्तो बताएका हुन्। महामन्त्री थापाले महासमिति बैठकअघि भविष्यमा गठबन्धन गर्न नहुने भन्दै प्रस्ताव ल्याएका थिए।

सोमबारबाट ललितपुरको गोदावरीमा सुरू भएको कांग्रेस महासमिति बैठकलाई सम्बोधन गर्दै देउवाले संविधानको रक्षाका लागि कांग्रेसकै पहल, प्रयत्न र अग्रसरतामा गठबन्धन बनेको दाबी गरे।

उनले भविष्यमा राजनीतिक गठबन्धन गर्ने वा नगर्ने भन्ने विषय तत्कालीन परिस्थितिमा निर्भर हुने बताए। पार्टीले तत्कालीन परिस्थितिअनुसार गठबन्धनको औचित्य सान्दर्भिकता लगायतका विषयमा ठोस मूल्याङ्कन र छलफल गरी सोही समयमा उचित निर्णय लिन सक्ने उनले बताए।

देउवाले वर्तमान संविधानको रक्षाको उद्देश्यले गठन भएको हुँदा यसको निरन्तरता पार्टीको राजनीतिक जिम्मेवारी पनि हुन गएको धारणा राखे। उनले मिश्रित निर्वाचन प्रणालीका गुण दोष दुबै रहे पनि यस प्रणालीले देशको सबै जातजाति र समुदायको उचित प्रतिनिधित्वलाई प्रात्याभूति गरेको बताए।

उनले आगामी दिनमा तीनै तहमा नेपाली कांग्रेसले बहुमत ल्याउन सक्ने गरी पार्टी संगठनलाई सुदृढ बनाउने काममा लाग्न आह्वान गरे। पार्टीका नीतिगत विषयमा छलफल गर्ने उद्देश्यले महाधिवेशनको निर्णयअनुसार महासमिति बैठक बोलाइएको उनले बताए।

कांग्रेसका सैद्धान्तिक मान्यता, नीति कार्यक्रम र व्यवहार सबै लोकतान्त्रिक मान्यताबाट निर्देशित हुने उनले बताए। सभापति देउवाले देशको सर्वाभौमिकता, अखण्डता, लोकतन्त्र, विकास, परराष्ट्र नीति र शान्ति प्रक्रियाका बाँकी काम संक्रमणकालीन न्याय जस्ता विषयमा समान धारणा हुनु आवश्यक रहेको जिकिर गरे। यस निम्ति पार्टीभित्र वा सबै पार्टीबीचमा संवाद, सहमति र सहकार्यको संस्कारलाई प्रोत्साहित गर्नुपर्ने उनको भनाइ छ।

महासमितिको बैठकले कांग्रेसलाई थप सवल, सुदृढ र एकताबद्ध बनाएर लैजान सफल हुने उनले विश्वास व्यक्त गरे।

बैठकमा वर्तमान केन्द्रीय समितिका पदाधिकारी तथा केन्द्रीय सदस्यहरु एक सय ६५, प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व हुने महासमिति सदस्यहरू एक हजार सात सय ८०, नेपाली जनसम्पर्क समितिबाट ८९, भ्रातृ तथा शुभेच्छुक संस्थाबाट ६९ र महासमितिका सदस्य नरहेका प्रदेश कार्यसमितिका सभापति, जिल्ला कार्यसमितिका सभापति र भ्रातृसंघ तथा शुभेच्छुक संस्थाका केन्द्रीय अध्यक्षहरू सहभागी छन्। बैठक फागुन १० गते सम्पन्न हुने कांग्रेसले जनाएको छ।

Tags: