post-slider post-slider

निजी विद्यालयले तोकिएको छात्रवृत्रि नदिए विद्यालयको अनुमति वा स्वीकृति रद्द गर्ने बालेनको चेतावनी

Image
A A

काठमाडौं- काठमाडौं महानगरपालिकाले आफ्नो मातहतमा रहेका निजी विद्यालयले तोकिएको छात्रवृत्रि नदिए विद्यालयको अनुमति वा स्वीकृति रद्द गर्ने चेतावनी दिएको छ। 

काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साहले सामाजिक सञ्जालमार्फत यस्तो चेतावनी दिएका हुन्। 

शैक्षिक सत्र २०८० का लागी कक्षा १० सम्मका विद्यार्थीलाई दिनुपर्ने छात्रवृत्ति वितरणको विवरण पेस नगर्ने विद्यालयले जेठ २८ भित्र नियमानुसार छात्रवृत्ति वितरण गरी विवरण पेस गर्न बालेनले निर्देशन दिएका छन्।

‘यदि नियमअनुसार विवरण पेस नगरेमा काठमाडौं महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५६ को उपदफा ४ बमोजिम विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द गरिनेछ, त्यस्ता विद्यालयहरूलाई यस ऐन वा अन्य प्रचलित कानुनबमोजिम हदै सम्मको कारबाही गरिनेछ,’ साहले लेखेका छन्। 

उनले सामाजिक सञ्जालमा महानगरपालिकाभित्र अध्ययनरत विद्यार्थीले नियमअनुसार पाउनु पर्ने अधिकारको बारेमा आफू गम्भीर रहेको उल्लेख गरेका छन्। 

काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को परिच्छेद १० मा छात्रवृत्ति तथा निःशुल्क शिक्षासम्बन्धी व्यवस्था रहेको स्मरण गराउँदै उनले यो नियमावलीको नियम ५८ मा व्यवस्था भए अनुसार विद्यालयले छात्रवृत्ति उपलब्ध गराएको विद्यार्थीहरूको नामावली सार्वजनिक गर्नु पर्ने बताएका छन्। 

संस्थागत विद्यालयले शैक्षिक सत्र २०८० मा कक्षा १० सम्मका विद्यार्थीलाई उपलब्ध गराउने छात्रवृत्तिका सम्बन्धमा वैशाख २४ को परिपत्र र मिति १० को गोरखापत्रमा प्रकाशित सार्वजनिक सूचना बमोजिम १५ गतेभित्र छात्रवृत्ति वितरण गरी सोको जानकारी जेठ १६ मा कार्यालय समयभित्र महानगरको शिक्षा विभागमा र इमेलमा अनिवार्य रूपले पठाउन सूचित गरिएको थियो।
महानगरपालिकाभित्र रहेका ५२० मध्ये ३४२ विद्यालयले छात्रवृत्ति विवरण बुझाएका छैनन्। विवरण नबुझाउने ती विद्यालयहरूको नाम महानगरपालिका कार्यालय मंगलबार सार्वजनिक सूचनामार्फत सार्वजनिक गरेको छ।

 

Tags: