post-slider post-slider

शिक्षा र स्वास्थ्य सुधारमा बालेनको अग्रसरता, सिंहदरबारमा पनि देखियो प्रभाव

Image
A A

काठमाडौं- शिक्षा र स्वास्थ्य सुधारमा बालेनले अग्रसरता देखाएका छन्। त्यसको प्रभाव सिंहदरबारमा पनि पर्न थालेको छ। 

विपन्न एवं लक्षित वर्गहरूलाई दिनुपर्ने कुल शैयाको १० प्रतिशत छुट्याई निशुल्क उपचार गर्नुपर्ने विषयमा बालेनले अग्रसरता देखाए अहिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि अनुगमन गरि लागु गर्न निर्देशन दिएका छन्। 

मंगलबार मेयर बालेनले विपन्न र लक्षित वर्गलाई सेवा दिएको विवरण नबुझाउने अस्पताललाई कारवाही गर्न स्वास्थ्य मन्त्रीसँग भेटवार्ता गरेका थिए । सो क्रममा उनले महानगरलाई १० प्रशित विपन्न र लक्षित वर्गलाई सेवा दिएको विवरण उपलब्ध नगराउने ६८ स्वास्थ्य संस्थाको नाम उपलब्ध गराएका थिए।

ती स्वास्थ्य संस्थाको अनुगमन तथा कारवाही गर्न उनले मन्त्री बस्नेतलाई एक साताको अल्टिमेटम दिएका थिए। एक साताभित्र अनुगमन र कारबाही नगरे महानगरले ती स्वास्थ्य संस्थाको प्रशासन बन्द गराउने चेतावनी दिएका थिए।

शुक्रबार स्वास्थ्य मन्त्रीसहित मन्त्रालयका पदाधिकारी काठमाडौंका केहि अस्पताल अनुगमनमा पुगेका थिए। त्यसपश्चात पत्रकार सम्मेलन गरि स्वास्थ्य तथा जनसंख्या मन्त्रीले विपन्न नागरिकका लागि १० प्रतिशत शय्या अनिवार्य रूपमा निःशुल्क दिन स्वास्थ्य संस्थालाई निर्देशन दिए।

आइतबार मन्त्रालयले पुनः पत्र जारी गर्दै सरकारी, सामुदायिक तथा निजी रुपमा सञ्चालित अस्पताल र सबै स्थानीय तहलाई विपन्न र लक्षित वर्गका लागि १० प्रतिशत शय्या छुट्याएर निःशुल्क सेवा दिन निर्देशन दिएका छन्। 

त्यस्तै काठमाडौ भरी २४ घन्टा नै १०२ मा कल गरेर निःशुल्क एम्बुलेन्स सेवाको सुरुवात गरेका छन्।  

उनले काठमाडौं महानगरपालिका र छत्रपाटी निःशुल्क चिकित्सालय बीच सम्झौता गरेका छन्। उक्त सम्झौता अनुसार काठमाडौं महानगरपालिकाका ३२ वडाभित्रका बृद्ध भत्ता प्राप्त जेष्ठ नागरिकहरुलाई छत्रपाटी चिकित्सालयमा उपलब्ध सम्पूर्ण स्वास्थ्य सेवा निशुल्क उपचार गरिनेछ। 

चिकित्सालयमा २४ सै घण्टा आकस्मिक सेवा, ल्याप्रोस्कोपीक शल्यक्रिया, सर्जरी, फिजिसियन र इन्टरनल मेडिसिन, नाक, कान, घाँटी रोग, स्त्री रोग, पेट रोग। ग्यास्ट्रोइन्टेरोलजी, चर्म तथा यौन रोग, बाल रोग, अल्ट्रासाउन्ड, टिएमटी हल्टर, अडियो ग्राम, टिम्पानो मिटर, इको, मनोचिकित्सा।  

२४ सै घण्टा प्याथोलोजी, डिजिटल एक्सरे, पिसाब नलीको पत्थर चिरफार नगरीकन निकाल्ने, शल्यक्रिया आँखा रोग तथा मोतिया बिन्दु शल्यक्रिया, हाड, जोर्नी र नशा रोग, जनरल हेल्थ चेकअप, इन्डोस्कोपी र कोलोन्स्कोपी, दन्त रोग, मुटु रोग, ड्रेसिङ, ईसीजी, स्त्री रोग शल्यक्रिया र हार्ड जोर्नी शल्यक्रिया हुन्छ। 

त्यस्तै विद्यालय शिक्षामा पनि उनले परिर्वतनको छनक देखाएका छन्। उनको चुनावी घोषणापत्रमा हप्तामा एक दिन सामुदायिक विद्यालयमा सीप, उद्यमशीलता, खेलकुद, सङ्गीत, कला तथा नेतृत्व विकासका लागि प्रशिक्षण कार्यक्रमको व्यवस्था गरिने उल्लेख गरिएको थियो। सोही घोषणा अनुरूप महानगरको सबै सामुदायिक  विद्यालयमा ‘बुक फ्री फ्राइडे’ कार्यक्रम सञ्चालन गरेका छन्।

‘बुक फ्री फ्राइडे’ अन्तर्गत ५६ सामुदायिक  विद्यालयमा  ‘शिक्षामा सिप’ कार्यक्रमको अनुगमन गर्दै आइरहेका छन्। यो कार्यक्रम सञ्चालनको चौथौ हप्ता पुगेको छ। उनी हरेक हप्ता विद्यालय अनुगमनमा पुग्छन्। गत साता शुक्रबार वडा नम्बर ५  स्थित टंगाल  मावि र वडा २५ स्थित  कन्या माविमा अनुगमनको लागि पुगेका थिए।

 टंगाल  माविमा कक्षा ९ मा अध्ययनरत विद्यार्थीले  काष्ठकला  र मोबाइल मर्मत सम्बन्धी तालिम लिइरहेका छन्।  त्यस्तै अन्य अतिरिक्त क्रियाकलाप हस्तकला बनाउने, कक्षा कोठा सजाउने कार्यक्रम पनि भइरहेको छ। 

त्यस्तै कन्या माविका विद्यार्थी भाइबहिनीले सौन्दर्य कला र कपाल शैली (हेयर स्टायल), कपडा निर्माणको तालिम लिँदै छन्। यस तालिममा सहभागी नभएका विद्यार्थीहरुले भने निर्वाचनको अभ्यास कार्यक्रम आयोजना गरेका थिए।

विद्यार्थीहरूले आफै उम्मेदवार, निर्वाचन अधिकृत, पर्यवेक्षक, मतदाता बनेर निर्वाचनको अभ्यास कार्यक्रम सञ्चालन गरेका थिए। यस कार्यक्रमबाट हाम्रो निर्वाचन प्रणालीको बारेमा विद्यार्थीहरूलाई विद्यालयमा नै जानकारी होस भन्ने उद्देश्य राखिएको छ।

यसका साथै विद्यालयमा ‘इको क्लब’ स्थापना गरी विद्यार्थीलाई परिचय लोगो समेत प्रदान गरिएको छ।

अघिल्लो साता शुक्रबार शिवपुरी माध्यमिक विद्यालयको अनुगमन गरेका थिए । उक्त विद्यालयमा पाक कला र मोबाइल इलेक्ट्रोनिक्स गरी २ वटा कक्षा सञ्चालनमा छन्। 

सोहि दिन दिउँसो पद्मकन्या विद्याश्रम पनि भ्रमण गरेका थिए । उक्त विद्यालयमा सीपमा शिक्षा कार्यक्रम अन्तर्गत विद्यार्थीहरू स्केचीङ र मूर्ति, फेसन र कपडा निर्माण जस्ता कार्यक्रममा भइरहेको छ।

त्यस्तै पत्रपत्रिका पठन, भाषण तथा कविता, कला तथा खेलकुद, चित्रकला, सर्वेक्षण, विज्ञान प्रयोगशालामा पनि सहभागी भएका छन्। उक्त विद्यालयमा नेपालकै पहिलो विद्यार्थीहरुको ट्राफिक क्लब पनि स्थापना गरिएको छ।

उनले शिक्षामा अर्को प्रयासको सुरुवात गरेका छन्। महानगरपालिका मातहतमा रहेका निजी विद्यालयले तोकिएको छात्रवृत्ति नदिए विद्यालयको अनुमति वा स्वीकृति रद्द गर्ने चेतावनी दिएका छन्। 

शैक्षिक सत्र २०८० का लागी कक्षा १० सम्मका विद्यार्थीलाई दिनुपर्ने छात्रवृत्ति वितरणको विवरण पेस नगर्ने विद्यालयले जेठ २८ भित्र नियमानुसार छात्रवृत्ति वितरण गरी विवरण पेस गर्न उनले निर्देशन दिएका हुन्।

Tags: