post-slider post-slider

बागमती नगरपालिकाका मेयरविरूद्ध ५ करोडको भ्रष्टाचार मुद्दा

Image
A A

काठमाडौं- बागमती नगरपालिका सर्लाहीका प्रमुख मेयर भरतकुमार थापाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पदको दुरुपयोग गरी गैरकानुनी रूपमा अकुत सम्पत्ति आर्जन गरेको आरोपमा थापाविरूद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

उनीसँग पाँच करोड ३३ लाख ५३ हजार १८९ रुपैयाँ बिगो, जरिवाना र सजाय माग गरिएको अख्तियार प्रवक्ता नरहरि घिमिरेले बताए।

घिमिरेका अनुसार थापाले २०७४ साल असोज ७ गतेदेखि २०७९ साल माघ २९ गतेसम्म गरेको आय-आर्जन गरेको सम्पत्तिको अनुसन्धान गरिएको थियो।

थापाले यो अवधिमा ७ करोड ८६ लाख ५० हजार २०१ रुपैयाँ वैधानिक रूपमा आर्जन गरेको पाइएको छ। सो अवधिमा उनले १३ करोड २० लाख ३ हजार ३९१ रुपैयाँ खर्च तथा लगानी गरेको देखिएको छ।

वैध आय र खर्च तथा लगानीको लेखाजोखा गर्दा बाँकी रहेको रकम गैरकानुनी तरिकाले आर्जन गरेको अख्तियारको दाबी छ।

घिमिरेका अनुसार थापाले आफ्नो तथा आफ्ना परिवारका सदस्यका नाममा बैंक तथा वित्तीय संस्थामा रकम मौज्दात गरेको पाइएको छ। उनी पदमा रहँदा पारिश्रमिक, बचत, बैठक भत्ता, ऋण/कर्जा, घर-जग्गा खरिद, कम्पनी आय, कृषि आयलगायतको अनुसन्धान गरिएको थियो।

थापाकी श्रीमती रेश्मीकुमारी घिमिरे थापा, भाइ रामकुमार थापा, बुहारी द्वारिका राउतविरूद्ध पनि मुद्दा दायर गरिएको छ। थापाले आर्जन गरेको सम्पत्ति सुरक्षित गरेको देखिएपछि उक्त सम्पत्ति जफत प्रयोजनका लागि उनीहरूलाई मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।

Tags: