post-slider post-slider

‘कसैले चाहँदैमा संघीय गणतन्त्रात्मक व्यवस्था परिवर्तन हुनेवाला छैन’

Image

जनकपुरधाम- नेपाली कांग्रेसका पूर्वउपसभापति एवं प्रतिनिधिसभा सदस्य विमलेन्द्र निधिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई कसैले परिवर्तन गर्न नसक्ने दाबी गरेका छन्।

शनिबार जनकपुरधाममा आयोजित विद्यापति स्मृति पर्वमा सम्बोधन गर्दै निधिले यस्तो बताएका हुन्।

‘नेपाली जनताको ठूलो बलिदानबाट संघीयता र गणतन्त्र स्थापना भएको हो,’ निधिले भने,‘कसैले चाहँदैमा यो व्यवस्था र संविधान परिवर्तन हुनेवाला छैन।’

विद्यापतिको साहित्य लोकतन्त्र र समानताका लागि सबैको प्रेरणाको स्रोत रहेको उनले बताए।

‘विद्यापतिका लेखनीहरू प्रेमरस र श्रृंगाररससम्म मात्रै सीमित छैन। उहाँ लोकतन्त्र र समानताका लागि  हामी सबैका लागि पनि प्रेरणाको स्रोत हुनुहुन्छ,’ निधिले भने,‘उहाँको स्मृति पर्वको अवसरमा म भन्न चाहन्छु कसैले चाहेर यो संविधान र अहिलेको व्यवस्था परिवर्तन हुनेवाला छैन।’

मौथिलीका साथै हिन्दी भाषाका पनि प्रखर साहित्यकार विद्यापति नेपालमा मात्रै नभएर भारतमा पनि सम्मानित रहेको उनले बताए।

निधिले मैथिली भाषा, मिथिला र विद्यापति आफूहरूका लागि सदैव पूज्यनीय रहेको उल्लेख गरे।

मैथिली साहित्यका महाकवि विद्यापतिको जन्मस्थलबारे हालसम्म आधिकारिक पुष्टि हुनसकेको छैन।

जनकपुरधामको विद्यापति स्मारक संरक्षण समितिले हरेक वर्ष कात्तिक धवन त्रेयोधदीका दिन विद्यापति स्मृति पर्व मनाउने गरेको छ।

समितिका अध्यक्ष चन्द्रमोहन चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा जनकपुरधामका मेयर मनोज साह, वडा नम्बर ४ का अध्यक्ष सुरेश झा, जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास, पूर्वप्रमुख जिल्ला अधिकारी जिवछ मिश्रलगायतले मैथिली साहित्य र भाषाको विकासका लागि विद्यापितले पु¥याएको योगदानको चर्चा गरेका थिए।

विद्यापतिलाई मैथिली साहित्यको महाकविको रूपमा चिनिन्छ। आधुनिक मैथिली साहित्यको लेखन तथा विस्तारमा उनको ठूलो योगदान रहेको छ।

मैथिली भाषा र साहित्यमा उनले गरेको योगदानको उच्च सम्मान गर्दै नेपाल र भारत दुवै देशले  आ–आफ्नो देशको हुलका टिकटमा उनको तस्बिर अंकित गरेका छन्।

नेपाल र भारत दुवै देशमा मैथिली आन्दोलन विद्यापति स्मृति दिवसकै आयोजनाबाट सुरू भएको थियो।

कतिपयले उनको जन्म धनुषाको बनौलीमा भएको तर्क गर्छन् भने मधुबनीको बिसफी विद्यापितको जन्मस्थल भएको दाबी गर्नेहरू पनि देखिन्छन्।

 

Tags: