post-slider post-slider

ब्राह्मण अन्तर्राष्ट्रिय संगठन भारतको ११औँ महासभा काठमाडौँमा, प्रदीप खनाललाई ऐतिहासिक सम्मान

Image

काठमाडौं- ब्राह्मण अन्तर्राष्ट्रिय सङ्गठन ट्रस्ट (पञ्जी), भारतले काठमाडौंमा सम्पन्न ११औँ महाधिवेशनको उद्घाटनको अवसरमा विश्व आध्यात्मिक दूत प्रदीप खनाललाई सम्मान प्रदान गरेको छ। एक वर्षभित्र सम्पन्न गरिएको अद्वितीय आध्यात्मिक तीर्थयात्राको स्मरण गर्दै खनाललाई सम्मान गरिएको हो।  

संगठनका अनुसार २०२३–२०२४ को अवधिमा खनालले ४ आदि शक्ति पीठ, १८ महाशक्ति पीठ, ५२ शक्ति पीठ, १०८ सिद्धपीठ, ४ धाम, सप्तपुरी, १२ ज्योतिर्लिङ्ग, साथै सिख धर्मका ११ गुरुद्वारा र बौद्ध धर्मका १३ प्रमुख स्थलमा दर्शन–पूजन गरेका थिए।यति मात्र होइन, २३ पवित्र नदी, ताल र सरोवरमा स्नान, तथा नेपाल, भारत, बङ्गलादेश, श्रीलंका, पाकिस्तान र तिब्बत (चीन) गरी ६ देशका ४५० भन्दा बढी तीर्थस्थलहरूमा दर्शन, पूजा, दान र आराधना सम्पन्न गरी दुर्लभ एवम् ऐतिहासिक आध्यात्मिक उपलब्धि हासिल गरेको भन्दै खनाललाई सम्मान गरिएको हो।

 

संगठनले आफ्नो महाधिवेशनको उद्घाटन दिनमै यस्तो सम्मान प्रदान गर्नु खनालको उपलब्धिप्रति व्यक्त गरिएको विशेष श्रद्धा र गौरवको प्रतीक भएको जनाएको छ।

समारोहमा बोल्ने अधिकांश गुरु–सन्त तथा विद्वानहरूले प्रदीप खनालले एक वर्षको छोटो अवधिभित्र सम्पन्न गरेको तीर्थ–साधना इतिहासमै दुर्लभ भएको उल्लेख गरे।

उनीहरूले खनालको यात्रा शैलीले जगतगुरु आदि शङ्कराचार्य र सिख धर्मका संस्थापक गुरु नानकदेवजीले गरेका विस्तृत धर्म–प्रचार तथा तीर्थ–यात्रा परम्परालाई निरन्तरता दिएको उल्लेख गर्दै आजको आधुनिक युगमा यति विशाल, विविध र कठिन यात्रा सम्पन्न गर्नु अद्वितीय आध्यात्मिक साहस र समर्पण हो भन्दै प्रशंसा गरेका थिए।

कार्यक्रमको सभापतित्व ब्रह्मण अन्तर्राष्ट्रिय संगठन ट्रस्टका मुख्य संरक्षक गर्गाचार्य गुरु अर्जुनप्रसाद बस्तोलाले गरेका थिए। उद्घाटन प्रमुख अतिथि तथा पशुपतिनाथ मन्दिरका कार्यबाहक मूल भट्ट (अर्चक) गिरीश भट्टले दीप प्रज्वलनबाट सुरू गरेका थिए।

कार्यक्रममा नेपाल, भारत, पाकिस्तान, युरोपलगायत विभिन्न देशका प्रतिष्ठित धार्मिक गुरु, न्यायाधीश, साहित्यकार, पत्रकार तथा धार्मिक–सांस्कृतिक अगुवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा सर्वोच्च अदालतका पूर्वप्रधान न्यायाधीश गोपाल पराजुली, पाकिस्तान कराचीस्थित पाँचमुखी हनुमान मन्दिरका महन्त रामनाथजी महाराज, महाराष्ट्र भारतका जगतगुरु कल्की भगवान, नेदरल्याण्ड्स (हेग)बाट आएका ब्रह्मऋषि सुरेन्द्र लोचन तिवारी, वरिष्ठ वैदिक विद्वान डा. माधव भट्टराई, ट्रस्टका केन्द्रीय अध्यक्ष डा. सुरेशचन्द्र कौशिक, महासचिव ऋषि शर्मा वरिष्ठ साहित्यकार तथा भ्रष्टाचार–विरोधी अभियन्ता भारत जंगम, वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठी, शिक्षाविद् प्रा.डा. माधव पाण्डे, ज्योतिषाचार्य दीपक सुवेदी, पशुपतिनाथ क्षेत्र विकास कोषका पूर्वकार्यकारी निर्देशक रमेश उप्रेती, कार्यकारिणी सदस्य बालकृष्ण शिवाकोटी, दिल्लीबाट आएका एनभीआई समाचारका प्रमुख हेमन्त अधिकारीलगायत नेपाल–भारतका विभिन्न शक्ति पीठ तथा तीर्थ–स्थानका प्रमुख गुरु–सन्तहरू र पत्रकारहरूको उपस्थिति थियो।

कार्यक्रममा अतिथिहरूको स्वागत धर्मराज बरालले गरेका थिए।

प्रदीप खनाललाई प्रदान गरिएको सम्मानपत्रको वाचन हेमन्त अधिकारीले गरेका थिए। समग्र कार्यक्रमको सञ्चालन डा. घनश्याम खतिवडाले गरेका थिए।

काठमाडौंको पिङ्लास्थानस्थित बद्रीनाथ होटलको सभाहलमा सम्पन्न समारोहमा २०० भन्दा बढी सहभागीहरूको उपस्थिति रहेको थियो।

सभामा अधिकांश गुरु–सन्तहरूले प्रदीप खनालको उपलब्धिलाई

सम्पूर्ण सनातन धर्म, हिन्दू सभ्यता र हिमालयीय आध्यात्मिक परम्पराको गौरव भएको उल्लेख गरे।

आयोजकका अनुसार यस वर्षको महाधिवेशनले नेपाललाई धार्मिक पर्यटन, सांस्कृतिक अनुसन्धान र अन्तर्राष्ट्रिय आध्यात्मिक केन्द्रका रूपमा उभ्याउने महत्वपूर्ण योगदान पुर्‍याउनेछ। महाधिवेशनले नेपाल–भारत आध्यात्मिक सम्बन्ध, सनातन धर्मको एकता, सांस्कृतिक कूटनीति र धार्मिक पर्यटन क्षेत्रमा दीर्घकालीन प्रभाव छोड्ने विश्वास व्यक्त गरिएको छ।

Tags: