post-slider post-slider

थिम्पुलाई हराउँदै घरेलु टिम सांग्रिला सेमिफाइनलमा

Image
A A

विराटनगर- पाहुना टोली भुटानको रोयल थिम्पु फुटबल क्लब (आरटिएफसी) लाई पराजित गर्दै घरेलु टिम सांग्रिला मोरङ फुटबल क्लब आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। 

विराटनगरको सहिद रंगशालामा शनिबार सम्पन्न भएको पहिलो क्वाटरफाइनल खेलमा आरटिएफसीलाई ३–२ गोलले हराउँदै सांग्रिलाले अन्तिम चारको स्थान सुरक्षित गरेको हो।

जितसँगै सांग्रिलाले सोमबार हुने विभागीय टिम सशस्त्र प्रहरी बल र चर्च ब्वाइज युनाइटेडबीच हुने बिजेता टिमसँग खेल्नेछ। 

जितको लागि सांग्रिलाको तर्फबाट आशिष चापागार्इं, सुशील राई र विदेशी खेलाडी स्याङले गोल गरे। आरटिएफसीको तर्फबाट सोरब दोर्जे दुई गोल फर्काए पनि त्यो पर्याप्त भएन।

खेल सुरु भएको २६ औं मिनेटमा विवेक पौडेलले प्रहार गरेको कर्नर बललाई आशिष चापागाईंले हेडमार्फत आकर्षक गोल गरी टिमलाई अग्रता दिलाए।

पहिलो गोल खाएपछि आरटिएफसी दबाबमा पर्यो। सांग्रिलाले अग्रता लिएको  सात मिनेट बित्न नपाउँदै ३३ औं मिनेटमा सुशील राईले हेडमार्फत उत्कृष्ट गोल गर्दै अग्रता दोब्बर पारे। मौसम लिम्बुले मध्यभागबाट निकालिदिएको पासलाई सुशीलले सदुपयोग गर्दै गोल गरे। घरेलु दर्शकको साथ पाएको सांग्रिलाले दोस्रो हाफदेखि आक्रमक खेल पस्कियो। दोस्रो हाफमको ५० औं मिनेटमा विदेशी खेलाडी स्याङले विजय गोल गरे। आरटिएफसीको गोलकिपर डेन्डुप अगाडि बढेपछि विदेशी खेलाडी स्याङले बायाँ बार च्यापेर गरेको प्रहारले जाली चुमेको थियो। 

आरटिएफसीको फिनिसिङ पक्ष कमजोर रहँदा बारम्बार पाएको गोल गर्ने अवसर खेर फालेका थिए। लगातार पाएको सुन्दर अवसर आरटिएफसीका खेलाडीको फिनिसिङ पक्ष कमजोर रहँदा क्वाटरफाइनलबाट घर फर्किन बाध्य भयो। 

६५ औं र ७४ औ मिनेटमा आरटिएसफीका सोरब दोर्जेले दुई गोल फर्काए। केल्जाङ जिग्मेंले प्रहार सांग्रीलाको गोलकिपर विशाल सुनारले पन्च गरेको बल रिबाउन्ड भएर फर्किएपछि सोरब दोर्जेले गोल गरेका थिए। ७४ औं मिनेटमा आरटिएसफीका जिङग्माले निकालिएको पास सदुपयोग गर्दै सोरबले गोल गरी ३–२ गोलको स्थितिमा ल्याएर टिमको हौसला बढाए । 

१३ औं मिनेटमा आरटिएफसीका जिङग्माले निकालिएको क्रस पासलाई केन्जुङको कडा प्रहार बाहिरियो। त्यसलगतै केल्जाङ जिग्मेंले डिबक्स भित्रबाट गरेको प्रहार सांग्रिलाका गोलकिपर विशाल सुनारले उत्कृष्ट बचाए। २४ औं मिनेटमा डिबक्स नजिकबाट किन्ले गेतसनको कडा प्रहार बाहिरियो। 

सांग्रिलाका गोलकिपर बिसाल सुनारले  प्रभावकारी भूमिका निभाए। उनले आधा दर्जन बढी आरटिएफीको पोस्ट आक्रमणलाई निस्तेज पार्दै टिमलाई अन्तिम चारको यात्रा गराए।

सांग्रिलाको सुनिल खड्काले ६० औं मिनेटमा वान भर्सेस वानको प्रहार गोल गर्नबाट चुके। उनले डिबक्सभित्रबाट गरेको प्रहार डेन्डुपले विफल पारिदिए।

सुमन लिम्बुले निकालको क्रस पास डिबक्स भित्रबाट विदेशी खेलाडी स्याङले गोल गर्नबाट चुके। ७८ औं मिनेटमा केन्जुङको डिबक्स भित्रबाट गरेको कडा प्रहार गोल गर्न चुक्दा बराबारीमा ल्याउन सकेनन। 

खेलको प्लेयर अफ द म्याच सांग्रिलाको महेन्द्र कार्की घोषित भए। उनले नगद ११ हजार रुपैयाँ पाए।

आइतबारको खेल एनआरटी फुटबल क्बल काठमाडौं र सिक्किम डे«गान भारतबीच हुनेछ। 

हारपछि भुटानका प्रशिक्षक उगेन दोर्जेलेले पाएको अवसर चुकाउँदा नतिजा आफ्नो पक्षमा पार्न नसकेको बताए। जितपछि प्रतिक्रिया दिँदै सांग्रिला फुटबल क्बलका प्रशिक्षक रानु राना मगरले खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरेका कारणले सेमिफाइनमा पुगेको बताए। ‘सेमिफाइनलमा अहिलेको सेटमा केही खेलाडी थप हुनेछ,’ उनले भने। 

Tags: