प्रहरी महानिरीक्षकमा नियुक्त भए एआईजी दानबहादुर कार्की, को हुन् उनी?
काठमाडौँ। सरकारले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गरेको छ। सोमबार बेलुका बसेको मन्त्रिपरिषद बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) कार्कीलाई ३३ औं प्रहरी महानिरीक्षक नियुक्त गरेको सूचना तथा सञ्चार मन्त्री जगदीश खरेलले बताए।
२७ कात्तिकमा हालका प्रहरी प्रमुख चन्द्रकुबेर खापुङ अवकाशमा जानुअघि सरकारले कार्कीलाई आईजीपी नियुक्त गरेको हो। कार्की चार जना प्रतिस्पर्धी एआईजीमध्ये पहिलो वरियतामा थिए।
कार्की हाल काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत् थिए। आईजीपी प्रतिस्पर्धामा एआईजीहरू राजन अधिकारी, मनोजकुमार केसी र सिद्धिविक्रम शाह प्रतिस्पर्धामा थिए।
कार्की १५ साउन २०२९ सालमा गुल्मीमा जन्मेका हुन्। कार्कीले मानविकी तथा समाजशास्त्रमा स्नातक, शिक्षा शास्त्रमा स्नातक, कानुन संकायमा स्नातक र राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन्।
कार्की १८ चैत २०५४ मा प्रहरी निरीक्षकमा नियुक्त भएका थिए। उनी २६ मंसिर २०६६ मा प्रहरी नायब उपरीक्षक (डीएसपी) भएका थिए।
कार्की १९ साउन २०७४ मा प्रहरी उपरीक्षक (एसपी) भएका थिए। ३ साउन २०७९ मा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बनेका कार्की १३ जेठ २०८१ मा प्रहरी नायब महानिरीक्षक (डीआईजी) पदमा बढुवा भएका थिए।
बुवा कृष्णबहादुर र आमा चन्द्रकुमारीका छोरा कार्की ११ वैशाख २०८२ मा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा पदोन्नति भएका थिए।
कार्की डीआईजी हुँदा लुम्बिनी प्रदेश प्रहरी कार्यालय र केन्द्रीय प्रहरी प्रवक्ताको रूपमा कार्यरत् थिए। एसएसपी हुँदा उनले काठमाडौं प्रहरी परिसरको जिम्मेवारी सम्हालेका थिए।
उनी इमानदार प्रहरी अधिकृतको छवि बनाएका अधिकृत हुन्। प्रहरी निरीक्षकमा भर्ना भएयता कार्कीले दुई दर्जनबढी कार्यालयमा काम गरेको अनुभव हासिल गरेका छन्।
प्रहरी सेवामा रहँदा कार्की करिब पाँच वर्ष संयुक्त राष्ट्र संघको युएन मिसनमा खटिएका थिए। विद्यमान २० वर्षे सेवा अवधि कायम रहे कार्की दुई वर्ष ६ महिना नेतृत्वमा रहेर अवकाशमा जानेछन्।