post-slider post-slider

विपक्षी दलले विरोध गर्ने भएपछि प्रतिनिधिसभा बैठक बस्न ढिलाइ

Image
A A

काठमाडौं- बजेट निर्माण प्रक्रियामा अनधिकृत व्यक्तिलाई संलग्न गराइएको भन्दै विपक्षी दलहरूले विरोध गर्ने भएपछि प्रतिनिधिसभाको बैठक बस्न ढिलाइ भएको छ।

बजेट निर्माण प्रक्रियामा पूर्वनायब सुब्बालाई संलग्न गराइएको भन्दै प्रमुख प्रतिपक्षी दल एमाले र विपक्षी दलहरू रास्वपा र राप्रपाले विरोध गर्ने तयारी गरेको हो।

विपक्षी दलहरूले विरोध गर्ने भएपछि बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक सुरू हुन सकेको छैन।

यसपटकको बजेट निर्माणमा पनि पूर्वनासुलाई संलग्न गराइएको भन्दै अर्थमन्त्री प्रकाशशरण महतमाथि प्रश्न उठेको छ।

सरकारले भने पूर्वनासु रामकृष्ण श्रेष्ठ भन्सार विभागमा करारमा कार्यरत रहेको भन्दै आफ्नो प्रतिरक्षा गरेको छ।

पूर्वकर्मचारीलाई अनुभवका आधारमा करारमा राखेर नियमित सहयोग लिने अभ्यास रहेको अर्थ मन्त्रालयका अधिकारीहरूको भनाइ छ।

बजेट निर्माणका क्रममा करको दर फेरबदल गर्न पूर्वनासुलाई प्रयोग गरिएको अर्थमन्त्री महत र मन्त्रालयले स्वीकार गरेका छन्।

केही व्यापारिक घरानासँग निकट मानिएका श्रेष्ठ अघिल्ला बजेटमा पनि उनीहरूको स्वार्थअनुकुल करका दर हेरफेरमा संलग्न रहेको बताइएको छ। 

यसपालि पनि उनलाई करको दर फेरबदल गर्न सहभागी गराएको मन्त्री महतले स्वीकारेका हुन्।

अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा पनि श्रेष्ठलाई ‘अनुभव र दक्षता’ का आधारमा प्रयोग गरिएको दाबी गरिएको छ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको अघिल्लो सरकारमा अर्थमन्त्री रहेका जनार्दन शर्माले पनि बजेट निर्माण प्रक्रियामा अनधिकृत व्यक्तिलाई सहभागी गराएको आरोप लागेको थियो।

शर्मामाथि लागेको आरोप छानबिन गर्न संसदीय समिति गठन भएको थियो।

 

Tags: