विदेश पठाइदिने बहानामा ठगी, दुई जना पक्राउ
काठमाडौँ। बेरोजगार युवायुवतीलाई विदेश पठाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा झापा दमक नगरपालिका-३ घर भई हाल काठमाडौं बुढानिलकण्ठ नगरपालिका-३ बस्ने ३० वर्षीय प्रवेश पोखरेल र काभ्रे मण्डनदेउपुर नगरपालिका-९ घर भई हाल काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-९ बस्ने ४५ वर्षीय ईश्वर राना रहेका छन्।
दुबैलाई आइतबार काठमाडौंका अलग-अलग स्थानबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यले बताए।
पक्राउ परेकामध्ये पोखरेलले अल्बानिया पठाइदिने बहानामा एक जना पीडितबाट ८ लाख ७० हजार र रानाले क्रोएसिया पठाइदिने भन्दै एक जनाबाट ११ लाख रुपैयाँ ठगी गरेको उजुरी छ। आचार्यका अनुसार रकम लिएर लामो समय सम्पर्कविहीन भएपछि पीडित प्रहरीमा उजुरी गर्न पुगेका थिए।
पक्राउ परेका दुबै जनालाई प्रहरीले सोमबार वैदेशिक रोजगार विभाग ताहाचल पठाएको छ।