post-slider post-slider

राष्ट्रियसभा निर्वाचन : उम्मेदवारले बढीमा ३ लाख ५० हजार खर्च गर्न पाउने

Image

काठमाडौं-निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारले गर्न पाउने खर्चको सीमा तोकेको छ।

११ माघमा हुन लागेको राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आयोगले उम्मेदवारले खर्च गर्न पाउने हद तोकेको छ।

आयोगले हरेक उम्मेदवारले अधिकतम ३ लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न सक्ने गरी हद तोकिएको जनाएको छ।

राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६५ तथा राष्ट्रियसभा सदस्य निर्वाचन नियमावली, २०७६ को नियम ४६ (१) बमोजिम खर्चको हद तोकिएको आयोगले बताएको छ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले यो खर्च मतदाता नामावली खरिद, सवारी साधन, सवारी साधनको इन्धन, प्रचारप्रसार सामग्री ढुवानी, गोष्ठी, अन्तरक्रिया, प्रचारप्रसार, कार्यालय सञ्चालन, प्रतिनिधि परिचालन र विविध शीर्षमा गर्न सकिने जानकारी दिए।

उम्मेदवारले खर्च गर्दा बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोली सोही खाताबाट खर्च गर्न र यसरी खर्च गर्दा निजको तर्फबाट खर्च गर्ने जिम्मेवार पदाधिकारी तोकी निजको नामसहितको विवरण निर्वाचन अधिकृतको कार्यालय तथा निर्वाचन कार्यालयमा जानकारी गराउन आयोगले निर्देशन दिएको छ।

त्यसैगरी निर्वाचन खर्चको विवरण निर्वाचन सम्पन्न भएपछि सार्वजनिक गरी निर्वाचन परिणाम घोषणा भएको ३० दिनभित्र आयोग वा निर्वाचन कार्यालयमा पेस गर्नसमेत आयोगले निर्देश गरेको छ।

 

Tags: