post-slider post-slider

त्रिशुली दुर्घटना अपडेट : अझै पाँच जना बेपत्ता, खोजी जारी 

Image
A A

काठमाडौँ - बुधबार बिहान त्रिशुलीमा भएको बस दुर्घटनामा हराइरहेका पाँच जनाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। 

धादिङको गजुरी गाउँपालिका-५ घाटबेसीस्थित पृथ्वी लोकमार्गमा कपिलवस्तुबाट काठमाडौंतर्फ आउँदै गरेको लु२ख २१२१ नम्बरको यात्रुबहाक बस बुधबार बिहान ४:४१ मा त्रिशुली नदीमा खसेको थियो। 

दुर्घटनापछि नियन्त्रणमा रहेका बसका चालकले जम्मा ४९ जना यात्रु रहेको भने पनि सहचालकले ५१ जना भनेका प्रहरीले जानकारी दिएको छ। तर चलानी र बीचमा चढेकासहित जम्मा ५२ जना रहेको प्रहरीको आशंका छ। 

बसमा सवारमध्ये ४० जना घाइतेलाई र सकुशल अवस्थामा उद्धार गरिएको छ। दुर्घटनामा ७ जनाको मृत्यु भएको छ भने हराइरहेकाका मध्ये ४ पुरुष र १ महिलासहित ५ जना रहेको प्रहरीले जनाएको छ। 

उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक मनिष थापाको कमाण्डमा २८ जना, विपद् व्यवस्थापन बेस आदमघाटबाट डीएसपी तुला चौधरीको कमाण्डमा १६ जना र आश्रित गुल्म धादिङबाट ११ जनासहित ५५ जनाको फौज परिचालन भएको छ।

जसमा ९ जना गोताखोर र अन्य विपद् व्यवस्थापन तालिम प्राप्त रहेका छन्। खोजी कार्यका लागि दुईवटा राफ्ट्बोट समेत प्रयोग गरिएको छ। अहिलेसम्म २ जना मृतकको मात्र सनाखत भएको छ। 

Tags: