post-slider post-slider

भारतले प्याज निर्यातमा लगायो अनिश्चितकालीन प्रतिबन्ध

Image
A A

काठमाडौं, चैत १३ - भारत सरकारले प्याज निर्यातमा लगाएको प्रतिबन्ध अनिश्चितकालका लागि लम्ब्याएको छ।

यसअघि भारतले मार्च ३१ सम्म प्याजको निर्यातमा प्रतिबन्ध लगाएकोमा अब यसलाई अनिश्चितकालका लागि लम्ब्याएको इकोनोमिक टाइम्सले उल्लेख गरेको छ।

भारतीय व्यापारीहरू यसअघि प्याजको निर्यातमा प्रतिबन्ध लगाएपछि स्थानीय मूल्य आधाभन्दा बढी घटेको र यस सिजनको बालीबाट नयाँ आपूर्ति आउन थालेकाले प्रतिबन्ध खुल्ने अनुमान गरेका भए पनि सरकारले गत शुक्रबार आदेश जारी गर्दै अर्को सूचना नआएसम्मका लागि प्रतिबन्ध यथावत् रहने जनाएको छ।

भारतमा हुने लोकसभा निर्वाचनअघि सरकारले स्थानीय बजारमा कुनै समस्या आउन नदिन प्रतिबन्ध यथावत् राखेको विश्लेषण गरिएको छ। भारतका केही थोक बजारमा प्याजको मूल्य डिसेम्बरमा प्रतिकिलो ४५ भारुसम्म झरेको थियो।

बंगलादेश, मलेसिया, नेपाल र युएईजस्ता देशहरू प्याजमा भारतमाथि निर्भर रहेका छन्।

भारतको प्रतिबन्धपछि यी देशहरूमा प्याजको उच्च मूल्यसँग संघर्ष गरिरहेका छन्।

चीन वा इजिप्टजस्ता प्रतिद्वन्द्वीहरू भन्दा धेरै बजारहरूमा छोटो ढुवानी समय भएको भारतले एशियाली देशहरूले आयात गर्ने प्याजको आधाभन्दा बढी हिस्सा ओगटेको बताइन्छ।

कालिमाटी तरकारी बजारमा भने अहिले भारतीय प्याजको मूल्य ७० रुपैयाँ प्रतिकिलो रहेको छ।

 

Tags: