post-slider post-slider

आज सन्ध्याकालीन अर्घ्य

Image

जनकपुरधाम- अराध्यदेव सूर्यको उपासना गरी मनाइने लोक आस्थाको पर्व छठको तेस्रो दिन आज सन्ध्याकालीन अर्घ्य दिइँदै छ।

सन्ध्याकलीन अघ्र्यअन्तर्गत छठका ब्रतालुहरूले साँझ अस्ताउँदै सूर्यको उपासना गरी पूजाअर्चना गर्नेछन्।

अस्ताउँदै सूर्यको उपासना गर्ने छठ एकमात्र पर्व हो।

गहुँ र चामलले तयार पारिएका पूजा  सामग्री भुसवा, खजुरी, ठकुआ, पेरूकियाका साथै फलफूल, मुला, बेसारको गाँठो, ज्यामिर, नरिवल, सुन्तला, केरालगायतका सामग्री अर्घ्य दिन प्रयोग गरिन्छ।

सन्ध्याकालीन पूजाका लागि पूजन सामग्रीहरूले जनकपुरधामस्थित सरोबरका घाटहरू मध्य रातिदेखि नै भरिभराउ भइसकेका छन्।

यद्यपि ग्रामीण क्षेत्रहरूमा भने पूजा सामग्रीहरू दिउँसो घाटमा लग्ने परम्परा रहिआएको छ।

सन्ध्याकालीन अर्घ्य दिइसकिएपछि ब्रतालु र परिवारका सदस्यहरू रातभर घाटमा जाग्राम बस्ने गर्छन्।

सोमबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिइसकिएपछि छठ पर्व सम्पन्न हुनेछ।

यो पर्वमा सूर्यको उपासनाले सन्तान, निरोगिता, सुख, समृद्धि र चर्म रोग निको हुने विश्वास रहेको छ।

सत्य र अहिंसाप्रति मानवको रूची बढाउने तथा सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित  गर्नु यस पर्वको मुख्य विशेषता हो। सूर्य उपासनालाई परम्पराको मोहक पद्धति मानिएको छ।

रात्रिको अन्धकारबाट भयभीत भएकालाई सूर्यको प्रकाशले त्राण दिने भएकाले आदिकालीन मानवले सूर्यको उपासना गर्ने गरेका थिए। उत्तर वैदिककालका मिथिलाका प्रसिद्ध चिन्तक र दार्शनिक याज्ञवल्क्यले सूर्यलाई गुरु मानेका थिए।

वैदिक साहित्यको मुख्य सार सूर्य उपासना नै हो। वेदमा सूर्यलाई ऐश्वर्य र ऋग्वेदमा सबै देवताको स्रोत, महाभारतमा सम्पूर्ण जगतको प्राणीसित सम्बद्ध भएको बताइएको छ।

छठ पर्व कृषि संस्कृतिमा पनि आधारित रहेको छ। 

संस्कृतिविद् एवं वरिष्ठ साहित्यकार डा.राजेन्द्र विमल छठ पर्वमा प्रयोग हुने पूजन सामग्री स्थानीय किसानका उत्पादन भएकाले कृषि संस्कृतिसँग जोडेर हेर्छन्।

छठ पर्व मुलतः मिथिलाको कृषि संस्कृतिको प्रतीकसमेत रहेको उनको भनाइ छ।

यो पर्वमा धनी, गरीब, उचिनिचनको भेदभावलाई छोडेर सबै वर्ग र समुदाय एउटै सांस्कृतिक पृष्ठभूमिमा पूजा अर्चनाका लागि उभिन्छन्, जसलाई समन्वय र परस्पर सद्भावतर्फ उन्मुख हुने प्रेरणात्मक संकेत मानिन्छ।

 

Tags: