post-slider post-slider

डिएसपी कुँवरको कार्यकाल अपराध नियन्त्रण, फैसला कार्यान्वयन र दुर्व्यसनी न्यूनीकरणमा केन्द्रित

Image
A A

बेनी, चैत १४- म्याग्दीबाट काठमाडौंको रानी पोखरीमा सुरुवा भएका प्रहरी नायब उपरीक्षक मदन कुँवरले आफ्नो नेतृत्वमा गरेका र भएका प्रमुख गतिविधिहरू मंगलबार सार्वजनिक गरेका छन्।

जिल्ला प्रहरी कार्यालय म्याग्दीमा करिब एक वर्ष नेतृत्व गरेका कुँवरले आपराधिक गतिविधिमा संलग्नलाई कानुनी दायरामा ल्याउने, लागुऔषध नियन्त्रण, अदालतको फैसला कार्यान्वयन र सामाजिक सचेतना वृद्धिमा केन्द्रित भएको विवरण सार्वजनिक गरेका हुन्।

कुँवरको ठाउँमा प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठ नेतृत्व सम्हाल्न आउँदै छन्।

बेनी बजारमा गत माघमा भएको बेगका सुशील गर्बुजाको हत्याका धेरैजसो आरोपीहरुलाई कानुनी दायरामा ल्याउन र अनुसन्धान कार्यलाई छिटो अघि बढाउन सफल भएको छ।

बेनी नगरपालिका-१ आनन्दबगरका सन्तोष बोगटीको शंकास्पद मृत्युको अनुसन्धान र एक जना भलगरलाई उनकी प्रेमिकाले अपहरण सम्बन्धी मुद्दा लगाएपछिको अवस्थालाई संयमित बनाउन प्रहरीको सन्तुलित भूमिका थियो।

प्रहरीले बिममा नानिती र बज्यैको हत्यामा संलग्नलाई समुदायको सहयोगमा तत्कालै नियन्त्रणमा लिएर कानुनी दायरामा ल्याएको छ। कालीगण्डकी नदीमा नाटकीय हिसाबले गाडी फालेर भागेका चालकलाई पक्राउ गर्न र मुद्दा चलाउन सफल भएको कुँवरले बताए।

करिब १४ महिनाको अवधिमा अदालतले विभिन्न मुद्दामा दोषी ठहर गरेका ७४ जनालाई पक्राउ गरी १२८ वर्ष २ महिना २९ दिन कैद र १ करोड १२ लाख २९ हजार ९८९ जरिवाना असुल भएको छ। अदालतको फैसला कार्यान्वयनमा जिल्लामै पहिलो पटक ठूलो रकम बराबरको जरिवाना र कैद असुल उपर गर्न सफल भएको प्रनाउ कुँवरले बताए।

ज्यान सम्बन्धी कसुर मुद्दामा २० वर्ष कैद ठकर भई फरार रहेका प्रतिवादीहरू मध्य लक्षिना बुढाथोकी भन्ने लक्ष्मीप्रसाद बुढाथोकी र गंगाबहादुर सारकी भनिने गंगबहादुर सार्कीलाई पोखराबाट पक्राउ गरिएको थियो।

बैकिङ कसुरका ९ वटा मुद्दाहरूमा ४६ लाख १७ हजार १०० जरिवाना भुक्तान गर्न बाँकी भई फरार रहेका मंगला ४ का गंगाबहादुर रोका र बैकिङ मुद्दामै २५ लाख जरिवाना र २ वर्ष कैद भुक्तान गर्न बाँकी रहेका मालिका-७ बिमका यामबहादुर रोकालाई काठमाडौंबाट पक्राउ गरिएको थियो।

प्रनाउ कुँवरको कार्यकालमा म्याग्दीमा १० वर्षयताकै ठूलो लागुऔषध चरेश बरामद भएको छ। लागुऔषध सम्बन्धी ९ वटा मुद्दामा १७ जनालाई पक्राउ गरिएको छ। ६.५ ग्राम खैरो हिरोइन, ३२४ एम्पुल डाइजेपाम, २३५ एम्पुल फेनारागन र २३४ एम्पुल नुर्फिन, ६ केजी १५८ ग्राम गाँजा, ४ केजी ४६ ग्राम चरेश बरामद भएको छ।

१५ जना लागुऔषध सेवनकर्तालाई अभिभावकसँग समन्वय गरी सुधार केन्द्रमा पठाइएको र जिल्लामै पहिलो पटक खैरो हिरोइनसहित विदेशी नागरिक पक्राउ गरिएको थियो। सो अवधिमा १२५ वटा मुद्दा दर्ता भएका थिए। ९० जना प्रतिवादी पक्राउ परेका र २४ जना फरार रहेका छन्।

हराएका तथा फेला परेका मोबाइलहरू खोजतलासको लागि एमडिएमएस प्रणालीमार्फत २५ वटा मोबाइलहरू फेला पारी सम्बन्धित धनीलाई बुझाइएको छ।

जिल्लाभर १८ युनिटको ७६ वटा रुट निर्माण गरी मासिक रुपमा १११ वटा गस्ती परिचालन गरिएको छ। एक हजार ४०० वटा गस्तीमा ३ हजार २२९ जनशक्ति परिचालन गरिएको छ। समुदायमा प्रहरी कार्यक्रम अन्तर्गत टोल-टोलमा पुगेर सचेतना फैलाउने काम प्रभावकारी बनेको छ।

प्रहरी कार्यालयमा सेवा लिन आउने सेवाग्राहीहरुका लागि तीन किसिमको भिजिटिङ कार्डको व्यवस्था गरेर सेवा प्रवाहमा प्राथमिकता दिइएको छ। अल्पसंख्यकलाई रातो, वुद्धबृद्धा र अपाङगता भएका व्यक्तिलाई पहेलो र महिला तथा बालबालिकालाई सेतो कार्डको व्यवस्था गरिएको छ। पछाडि परेका सेवाग्राहीहरूलाई प्रहरीको सेवामा पहुँच बढाउन सहयोग पुगेको छ।

६ वटा हातहतियार तथा खरखजना मुद्दामा ५ जना पक्राउ र ६ थान एक नाले भरुवा बन्दुक, १ थान १२ बोर कार्तुस बरामद भएको छ। आपराधिक विश्वासघात, आवश्यक बस्तु संरक्षण ऐन अन्र्तगत, सहकारी ऐन र सार्वजनिक हित स्वास्थ्य सुरक्षा नैतिकताविरुद्धको कसुर (साइबर सम्बन्धी) प्रकृतिका मुद्दा शीर्षकहरुमा पहिलो पटक मुद्दा दर्ता भएको छ।

प्रविधियुक्त अनुसन्धान र शान्ति सुरक्षाको प्रभावकारी व्यवस्थापन गर्न विभिन्न निकायहरूसँग आवश्यक समन्वय गरी बेनीको गणेश टोलमा २, कारागार कार्यालयमा २ र गलेश्वरमा ६ वटा सिसिटिभी जडान भएको छ। हालसम्म म्याग्दीका सार्वजनिक स्थलमा ७७ वटा सिसिटिभी जडान गरिएको छ।

Tags: